Monday, August 3, 2015

फुटबलको रकमले विद्यालय भवन

गोरखा, श्रावण १० - गोल्डकप फुटबल प्रतियोगितामा जम्मा भएको रकम रूपन्देही फुटबल संघले मिरकोट ५ स्थित धर्मोदय माविको भवन बनाउन खर्च गरेको छ। भूकम्पपीडितको सहयोगार्थ संघले गत महिना बुटबलको तिलोत्तमा प्रतियोगिता गरेर ९ लाख जुटाएको हो।
भूकम्पले पूर्ण रूपमा क्षति भएको विद्यालय भवन बनाउन रकम खर्च गरिएको हो। आठ वटा कक्षाकोठा, एउटा प्रशासनिक भवन र शौचालय सहितको स्थायी संरचनाको भवन बनाइने संघका अध्यक्ष कुमार केसीले बताए।
संघका पदाधिकारी र रूपन्देही फुटबल एकेडेमीका कर्मचारीसमेत भवन निर्माणमा खटिएका छन्। विद्यालय भवन निर्माणमा १३ लाख खर्च भइसकेको उनले बताए। ‘डिजाइनअनुसार बनाइसक्दा १८ लाख भन्दा अलि बढी खर्च लाग्ने हिसाब आएको छ,’ उनले भने। भवन नभएकै कारण बालबालिकाको पढाइमा असर पर्ने अवस्था देखेर सहयोग गरिएको उनले बताए। प्रतियोगिताबाट संकलित ९ लाख र फुटबलप्रेमीहरूबाट ४ लाख चन्दा संकलन गरी १३ लाख रुपैयाँ विद्यालय भवन निर्माणका लागि संघले जुटाएको हो। निर्माण सम्पन्न गर्न लाग्ने थप रकम जुटाउन संघले विकल्पको खोजी गरेको केसीले बताए।
विद्यालयका प्रधानाध्यापक नारायणबाबु पाण्डेले भूकम्पले विद्यालय भवन भत्केपछि ३२ दिनपछि पहिलाकै स्थानमा शिक्षा कार्यालय र विभिन्न संस्थाले दिएको टेन्टले टाँगेको टहरामा कक्षा सञ्चालन गरिएको बताए। उनले भने, ‘गर्मीले अप्ठ्यारो भएकाले बिहानमात्रै कक्षा चलाएका छौं।’

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com