काठमाडौ, श्रावण १८ - जन्मदै उल्टो मुटु भएकी छोरीको महंगो उपचारमा प्यूठानका ध्रुव गौतम दिन–रात खटिरहेका छन् । चिकित्सकहरुले विदेशमा लगेर उपचार गर्नुपर्ने भनेपनि त्यसको लागि लाग्ने लाखौं रुपैया जुटाउन नसक्दा गौतम परिवार तनावमा छ ।
‘एकातिर छोरीको मुटुको आन्तरिक संरचनाले काम नगर्दा दिनहुँ चिन्ता छ । उपचार गर्न भने ठूलो रकम लाग्ने भएकोले साह्रै अप्ठेरोमा परेको छु’, १३ महिने छोरी प्रणवीको स्वास्थ्य समस्या राख्दै गौतमले भने ।
गम्भीर समस्या भएको कारण देखाउँदै मेडिकल बोर्डले विदेशमा गई उपचार गराउन सिफारिस समेत गरेको छ । विशेषज्ञ डा.भरत रावत र डा.शिवजी विक्रम सिलवालले बालिकाको प्रारम्भिक स्वास्थ्य अध्ययन गरेका थिए । चिकित्सकीय भाषामा यो रोगलाई ‘लार्ज भीएसडी वीद सेभर पीएस, ट्रान्सपोजिसन अफ ग्रेट अर्टेरिज’ भनिएको छ ।
गौतम परिवारले २ महिना अघि विरामी बालिकालाई भारतको सर गंगाराम हस्पिटल र एम्स हस्पिटलमा पुर्याई स्वास्थ्य परीक्षण गरेको थियो । तर, गम्भीर खालको शल्यक्रिया गर्नुपर्ने भएकाले ४५ लाख रुपैयाँ भन्दा माथि लाग्ने जानकारी त्यहाँका चिकित्सकहरुले दिएका थिए ।
‘यस्तो खालको अप्रेशन विश्वमै विरलै हुन्छ । अझ सकिए अमेरिका, जर्मनतिर लगिए पछिल्लो प्रविधिसहितको उपचार हुन्छ भने’, भारतीय चिकित्सकहरुले दिएको सुझाव उल्लेख गर्दै गौतमले भने–‘मेरो सामान्य परिवारले यति ठूलो रकम कहाँ बाट ल्याउनु ?’
बालिकाको उपचारका लागि देश विदेशबाट सहयोग जुटाउन केही दिन अघि विराज गौतमको संयोजकत्वमा एक समिति पनि बनेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गोविन्दराज पोख्रेललाई सल्लाहकार राखि उक्त समिति बनाइएको र त्यसले देश–विदेशमा सहयोगका लागि आग्रह गरेको जानकारी गौतमले दिए ।
रकम संकलनका लागि एभरेष्ट बैंकको कालीमाटी शाखामा खाता समेत खोलिएको छ । अस्मिता पौडेल र विराज गौतमको नाममा ०३७००५०१२०३८४६ नम्बरको बचत खाता खोलिएको छ । त्यस्तै सम्पर्क मोवाइल नम्बर ९८५११५५२४३ राखिएको छ ।
No comments:
Post a Comment