Monday, August 3, 2015

छियाछिया पोखरा–बागलुङ राजमार्ग

पोखरा, श्रावण १८ - भारी वर्षापछिको बाढीपहिरोले धौलागिरि अञ्चललाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने पोखरा–बागलुङ भूपी शेरचन राजमार्गलाई विभिन्न ठाउँ भागमा क्षति पुर्‍याएको छ । गत बुधबार रातिको वर्षापछि दर्जनौं ठाउँमा तल र माथिबाट खसेको पहिरोले राजमार्ग जोखिममा छ । थुप्रै स्थानमा चर्किएको र भासिएको छ । ‘भूकम्पको असर राजमार्गमा स्पष्ट देखियो,’ डिभिजन सडक कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले भने, ‘तत्कालै भौगर्भिक अध्ययन गरी यसको पुनर्निर्माणको आवश्यकता छ । धेरै ठाउँमा चर्किएकाले कुनै पनि बेला राजमार्ग बन्द हुन सक्छ ।’
राजमार्गको कास्की र पर्वत खण्डको केही जमिन निकै कमजोर भएकाले पटकपटक समस्या आउने गथ्र्यो । तर अहिलेजस्तो एकैदिनको वर्षाले यसअघि कहिल्यै क्षति पुर्‍याएको थिएन । भूकम्पका कारण जमिन थप कमजोर भएकाले सामान्य वर्षाले पनि ठूलो क्षति पुर्‍याएको सुवेदीले बताए । कार्यालयका अनुसार फेदीमा घट्टेखोलाले ३० मिटर जति सडक खसालिदिएको छ । यसैगरी ढिकुरपोखरीको पानीओढा पुल नजिकै १५ मिटर सडक भासिएको छ । ढिकुरपोखरीकै घुम्तीमा कल्भर्ट, नाली र सडक सबै क्षतविक्षत बनेको छ । माथिबाट आएको पहिरोले लुम्लेको जलजले खोल्सीमा डेढ सय मिटर, त्यसअघि पनि डेढ सय मिटर जति सडक, वाल र नाली सबै बगाएको छ । २७ जनाको ज्यान लिने गरी लुम्लेको माझ गाउँबाट झरेको पहिरोले पनि एक सय मिटर जति पिच र नाली भत्काइदिएको छ । ‘सबैभन्दा ठूलो नयाँ पुलनेरको ६५ मिटर जति सडक पूरै धसिएको छ । कुनै पनि बेला पहिरो गएर राजमार्ग अवरुद्ध हुन सक्छ,’ इन्जिनियर विश्वविजयलाल श्रेष्ठले भने, ‘कुनाबाट काटेर सडक चक्लाउनुपर्ने अवस्था छ ।’ उनले राजमार्गको पूरै भौगर्भिक अध्ययन गरेरमात्र पुनस्र्थापना (मर्मत) गर्नुपर्नेमा जोड दिए ।
यसैगरी राजमार्गको पर्वत खण्डअन्तर्गत बेतेनीदेखि डिमुवासम्मको अवस्था पनि सोही दिनको बाढीपहिरोले नाजुक बनाइदिएको छ । बेतेनीमा ३० मिटर जति कल्भर्ट बगाएको, अँधेरीखोलामा ५० मिटर जति सडक क्षतविक्षत गराएको छ । त्यस क्षेत्रमा करिब ३ सय मिटर पिच बगाएको छ । माथिबाट खसेको पहिरो र मोदीखोलाको कटानले सडकलाई दख्खल पुर्‍याएको हो । ‘अहिले ह्युमपाइप राखेर सवारी साधन ओहोरदोहोरको व्यवस्थामात्रै मिलाएका छौं,’ डिभिजन सडक कार्यालय बाग्लुङका इन्जिनियर अनन्त बरालले भने, ‘सडक निकै अस्तव्यस्त बनाएको छ ।’
राजमार्ग अहिले मध्यपहाडी राजमार्गअन्तर्गत परेकाले सोही आयोजनाले विस्तृत अध्ययन गरी काम गर्नुपर्नेमा सुवेदीले जोड दिए । ‘इन्जिनियरिङ अध्ययनमात्रै भएकाले अब भौगर्भिक अवस्थाको पनि अध्ययनबिना सडक मर्मत गर्नु हुँदैन,’ उनले भने, ‘मध्यपहाडी राजमार्ग आयोजनाले यस खण्डलाई प्राथमिकतामा पारेर काम गरे राम्रो हुन्थ्यो ।’
क्षेत्रीय सडक निर्देशक उत्तमलाल प्रधानले आपतकालीन बजेटबाट सडकको मर्मत गर्नुपर्ने बताए । ‘१० दिनमा सडकको क्षतिबारे विस्तृत विवरण आउला,’ उनले भने, ‘विशेष कार्यक्रममा नपारेसम्म सडकको अवस्था सुध्रँदैन ।’
pokhara_baglung_highway

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com