Friday, August 7, 2015

आमा (कथा)

उत्तर भारत बिहारको रामनगर थाना स्थित
रामग्राम नाउँको एउटा सानो गाउँमा
नेपालीहरुको बाक्लो बस्ती थियो। त्यस
बस्तीमा खासगरी २००७ सालको एतिहासिक
क्रान्तिको समयमा नेपालबाट भागेर आएका
राणाहरू वा त्यो घटना भन्दा अघि-पछि
आफन्तको खोजिगर्दै आएर बसेका साधारण
नेपालीहरू थिए।
बिच बस्तीमा मुलबाटोको दुबैतर्फ राणा
परिवारका आलिसान महलहरु, राणाजीहरूको
पछि लागेर आएका उनीहरूका छाते, चम्चे,
हुक्केहरुका पक्की घरहरू र राणाहरूले आफ्नो
सेवागर्न नेपालबाट ल्याएका नोकर चाकरका
फुस्का घरहरू थिए भने बस्तीको सिह्रान र
पुछारमा राणाहरुका नातेदार भारतीयहरूको
बसोबास थियो। कार्तिक महिनाको
निक्लँदो बेला साँझको समय थियो। नेपाली
बस्तीको एउटा सुन्दर घरमा एउटी अन्दाजी
पचपन्न बर्सकी बुढीआमा भित्र बाहिर गरि
रहेकी थिईन्।
सायद उनि साँझको नियमित घरधन्दा
गरिरहेकी थिईन्। बाहिर अग्लो पर्खालभित्र
फराकिलो आँगनमा दुइजना दश-बाह्र बर्षका
केटाकेटी खेलिरहेका थिए। प्रवेश द्वारको
घन्टी घनघनायो, “प्रवेश द्वारमें कोही खडे हें,
कृपया ध्यान दें। अटेंशन् प्लीज्! सम् वोन् इज् एट् द
गेईट्।” घन्टी तीन पटक बोलेर शान्त भयो।
केटाकेटीहरु खेल्दा खेल्दै टक्क अडिए। फनक्क घुमेर
बैठक कोठामा पसेI भित्तामा झुन्ड्याईएको
ठुलो सिसाको पर्दामा तीनवटा पुरुष मानव
आकृतिहरु चलमलाईरहेका थिए। दुबैजना फेरि
दौडेर बुढीआमा भएको कोठातिर गए। उनि
तरकारी केलाउन व्यस्त थिइन्। “मुमा हजुर
बाहिर गेटमा कोही होइसिन्छ बाहिर
पालिबक्स्योस न,” दुबैजनाले एकै सासमा भने।
बुढी जुरुक्क उठेर बैठकमा पसिन्, तस्वीर हेरिन् र
हेरेको हेर्यै भईन्।
घन्टी फेरि बज्यो र गनिगनी तीन दुना छ पटक
बोलेर रोकियो। बुढीको ध्यान भंग भै सकेको
थियो। उनि बैठकबाट सिधै प्रवेश द्वारमा
पुगिन् र आफ्नै हातले द्वार खोलिन्। तीनैजना
आगन्तुकहरुले प्रवेशद्वारको संघारमै बुढीआमालाई
ढोग गरे। अनि चारै जनाले एकअर्कालाई
अंगालोमा भरेर डाँको छोडेर रुन थाले। यो देखेर
साना केटाकेटी हक्क बक्क रहे। एकक्षण पछि
उनीहरूपनि बुढीआमाको कम्मरमा बेरिएर रुन
थाले। बुढीआमाले केटाकेटीलाई भनिन्, “ठुलो
बाबाहरुलाई दर्शन गर्नुस्।”
छोरीले सबैतिर फर्केर दुवै हात जोडेर नमस्कार
भनिन्। यता छोराले सबैलाई ढोगी सकेको
थियो। उनिहरु एकले आर्कालाई समातेर घरभित्र
पसे। आमाले भित्तामा रहेको एउटा बटम
थिच्नुभयो, सररर सररर गर्दै प्रवेशद्वार आँफै बन्द
भयो।
भित्र पुगेर अलि उमेरदार आगन्तुकले सोधे, “आमा,
हामीहरुलाई चिन्नु त भयो?” ल भन्नु हामी को
को हौँ?” बुढीआमाले रुँदै भन्नुभयो, “परिबन्दमा
परेर छोडेर पो आएँ, मया त मारेकी छैन नि!
मान्छेले आफ्नो गाईको दुध त चिन्छन् भन्छन् म
आँफुले जन्माएका छोराहरुपनि नचिनौंला त?”
“तिमी डम्मर, यिनी उदय अनि यिनी
……………………..” आमाको सास अबरुद्ध भएर आयो,
आँखा भरिए, दुवै गालामा बाढी आयो। वहाँ
बोल्न सक्नु भएन। आगन्तुक हरुमा सबैभन्दा
कान्छा देखिनेलाई अंगालो हाल्दै वहाँ खुब
रुनुभयो। अरुपनि रोए।
डम्बरले खल्तीबाट पचासको भारतीय नोट
झिकेर केटाकेटीलाई दिंदै भने, “हमे माफ करें, हम
सब खालीहात आयेंहे। ये लिजिये चकलेट
खाईएगा। केटाकेटीले आपसमा मुखामुख गरे र एकै
स्वरमा भने, “हामीलाई नेपाली बोल्न आउँछ
ठुलो बाबा।” बालिकाले डम्बरको हात
समातेर भनिन्, “हजुरहरु हामीलाई सम्झेर
आइबक्स्यो यति भएपछि हामीलाई पुग्यो।
आमाले कथामा भानिसिन्थ्यो नेपालमा
हाम्रो बाबाहरु होइसिन्छ। अनि बाबा, मामु
र आमा तीनैजना खुब रोइसिन्थ्यो। आमाले
कथा कहिल्यै पुरा भानिस्सेन। आज हजुरहरु
आइस्यो र आमाको कथापनि पुरा भयो।”
केटाकेटी आमासँग आनुमति लिएर बाहिर गए।
“आमा यिनीहरु……………… ?” कान्छाको प्रश्न
पुरा हुन नपाउंदै आमाले उसको हात समातेर रुँदै
भन्नुभयो, “तिमी मलाई आमा पनि नभन बाबु,
राजन, आमा फेरि रुनु भयो। म तिम्री अपराधी
हुँ। कमसेकम हिड्ने बेलामा मैले तिमीलाई
काखमा लिनु पर्थ्यो। त्योपनि गर्न सकिन।
समाजले ममाथि आन्याय गर्यो भन्दैमा आफ्ना
राज कुमार राज कुमारी जस्ता छोरा छोरी
छोडेर हिंडेर मैले नकाम गरें। के ठिक के नठिक
त्योपनि जनिन मैले। म अधम पशु हुँ, बाबु।
चरनमा बन गएका गाई भैंसीपनि साँझ आफ्ना
पाडा बाच्छा सम्झेर गोठमा फर्कन्छन् तर ममा
त्यति सुद्दी पनि रहेन। भोका नांगा
छोरालाई सासू ससुराको पोल्टामा फालेर
यो मुग्लानमा म खै के पाउने आसमा भुलें। आज
मसंग सबैथोक छ तरपनि म रित्तो छु; म निहाय
गरिब छु। सबैलाई आउने कालपनि मेरोलागि
निठुरी बन्यो, बाबु हो मलाई माफ गर। म
तिमीहरुलाई कसरी मुख देखाऊ? तिमीहरुले मा
यहाँ छु भनेर कसरी थाह पायौ र आयौ?
तिमीहरु आउनु अगाडिनै म पापिनी मर्न
पाएको भए हुन्थ्यो।” उदयले आमाको मुखमा
आफ्नो हात राखेर भने, “अब एक शब्द पनि नबोल्नु
आमा हजुर कुन अवस्थामा घर छोडेर हिड्नु
भाथ्यो हामीलाई सबै थाह भयो। हामीले
हजुरलाई कति खोज्यौं तर पाएनौं।
बरु हजुर हामी सबैलाई लिएर मधेस झरेको भएपनि
हुन्थ्यो; यत्रो दुख्ख एक्लैले कसरी उठाउनु भयो?
दाजु र म त ठुलै थियौं होलानी हामीले
ज्याला मजदुरी गरेर हजुरलाई पाल्न
सकिहालिन्थ्यो नि। आमा केहि बोल्नु भएन।
“अघिका बबुनानी को हुन्, आमा? कतिमिठो
बोलि बचन रहेछ”, राजनले भन्यो।
“ए म पनि कस्ती हुस्सु! यिनीहरु तिमीहरुकै
भदा-भदै हुन्, साजनका नानी-बाबु, दिक्षा-
दिक्षान्त।”
“को साजन? त्यहि गोबन साँपको सन्तान?
त्यो अझै आमासंगै छ?” राजनले दाजुतिर हेरेर
सानो स्वरमा सोध्यो। आमाले सुन्नु भएछ। वहाँ
रांकिनु भयो, “तिमीहरु मेरो मायाले मलाई
खोज्दै आएका कि मलाई गाली गर्न आएका? हेर
तिमीहरुलाई आमा गलत हो भन्ने छ भने अहिल्यै
जान सक्छौ। हैनभने आफ्नो भाइलाई किन
गाली गर्छौ? जुन गर्भमा तिमीहरुले बास
लियौ, जुन कोखमा तिमीहरु खेल्यौ र जुन
लाम्टा तिमीहरुले चुस्यौ त्यहि स्थान
उसकोपनि हो। आज म जिउंदै छु त केवल साजनको
कारणले।
तिमीहरुले झैं उसलाई सर्पको बच्चा सम्झेकी भए
मैले उसलाई गर्भैमा मार्न सक्थें, बाँसघारीमा
फाल्न सक्थें र मपनि सिता र सावित्री जस्तै
पबित्र बन्न सक्थें। तर यसमा त्यो बच्चाको के
दोष? बबु हो, जसरि जन्मेको भएपनि एउटी
आमाकोलागि सन्तान भनेको ईश्वरको रुप हो।
मेरो भगवानले मलाई त्यहि भन्छ। समाजले
चाहेजस्तो गर्न मैले त्यो चाहिन र यो बाटो
रोज्न बाध्य भएँ। अझैसम्म पनि तिमीहरुको
मनमा साजनको लागि ठाउँ बनेको छैन भने
तिमीहरु ऊ आउनु अगाडि नै गैहाल हैन भने थाकेर
आएका छौ तिमीहरु आराम गर म भान्छा पस्छु।
तिनै जनाले झुकेर आमालाई ढोगेर माफी मागे।
आमाले सबैको शिरमा हात राखेर आँशु
पुछिदिनुभयो र राजनको आग्रहमा सबैजना
भान्छातिरै लागे।
भान्छाको काम सकेर सबैजना बैठक कोठामा
बसेर गफ गर्न थाले। केटाकेटी पनि अघिनै फर्केर
पल्लो कोठामा बसेर आफ्नो नियमित पठन
पाठनमा लागेका थिए। भित्ताको घडीले
साँझको सात बजायो। आमाले कुराकानी
छोडेर झ्यालबाट बाहिर हेर्न थाल्नु भयो।
भित्तामा राखेको सिशाको पर्दामा
एकजोडी नर नारीको तस्बिर देखियो। आमा
मुसुक्क हाँस्दै भन्नुभयो, “साजनका दम्पति आए,
हेक्का राख्नु कि तिमीहरुका कुनै कुराले
उनीहरुको मन नदुखोस्।
उनीहरुलेपनि तिमीहरुको पुरै ईज्यत गर्नेछन्। एकै
क्षणमा दुबैजना सरासर बैठकमै आए। उनिहरु आउनु
अघिनै सबैजना उभिई सकेका थिए। दुवै जनाले
अघिल्तिरका तीनैजना लाई नमस्कार गरे।
उनीहरुले पनि नमस्कार फर्काए। साजनले
श्रीमतीको बायाँ हात समातेर आमातिर
प्रश्न सूचक दृष्टिले हेरे। आमा केहि बोल्नु भएन।
वहाँका आँखा रसाए, मूल फुट्यो, गालामा
अर्को बाढी आयो। आमाको मौन ईशारा
बुझेर साजनले सबैलाई ढोग्यो उनकी श्रीमतीले
शिरमा सिलिकको पछ्यौरी राखेर झुकेर दर्शन
भनिन्। आमाले भन्नुभयो, “यिनको नाम संस्कृति
हो अनि माईतिहरू पाल्पातिर बाट आउनु
भएको रहेछ। दुवैजनाले एकै स्वरमा भने, “घरमा
सबैजनाको गाथमा कुशल मंगल नै होला!”
दाजुहरुले केहि नबोली शिर हल्लाए। साजनले
दाजुहरुको अगाडि झुकेर सोधे, “किन
नबोलिबक्स्या हजुरहरू? हामी हजुरहरुको
अगाडि अझै सानै छौं। रिसानी माफहोस्
हजुर।” कान्छो भाइलाई अंगालोमा बेह्रेर
डम्बरले भने बाबु, हामी को हौँ र तिमीहरूसंग
रिसाउने? आफ्ना भाइ, बुहारी आमा खोज्दै
खोज्दै हामी आज यहाँ आइपुग्यौं। भगवानको
कृपाले आज भेटपनि भैयो। हामी ज्यादै खुशी
छौं, भाइ; तिमीले आमालाई संसारको सबै सुख
दिएर राखेका रहेछौ।
बरु हामी त यो कारणले चुप्प छौं कि हामीसंग
यि छोराछोरीसँग बोल्ने ढंग पनि रहेनछ।”
“किन आमा, दाजुहरूलाई बाबु-नानिबाट कुनै
चित्त दुख्ने कुरा पो मर्जी भो कि?” “हैन हैन
हामीले उनिहरुसँग जोरजाम हिन्दी बोल्यौं तर
उनीहरूले हामीसँग ठेट नेपालीमा कुरा गरे। बस
भएको यत्ति हो। बरु हामीलाई यो
किताबमा मात्र पढेको लवज बुझ्न गाह्रो भएन
तर बोल्ने मेसो मिलाउन जानिएन”, उदयले
जवाफ दिए। कोठामा लामो हाँसोको
फोहरानै छुट्यो।
“आठौँ आश्चर्य!” भन्दै नानीबाबु कोठामा
प्रवेश गरे। आजसम्म उनीहरुले आफ्नो घरमा यसरी
परिवार संगै बसेर हाँसेको सुनेका थिएनन् रे।
साजनले छोरीलाई सोधे, “ठुलो बुबाहजुरबाट
हजुरहरुलाई के मर्जी भयो?”
उनले ठुलोबाबाको काखमा बस्दै अलिअलि
लजाउँदै थोरै गम्भीर भएर भनिन्, “हमे माफ करें,
हम सब …………….. उनको वाक्य पुरा हुन नपाउँदै
सबैजना फेरि हाँसे।
खाना पछि डम्बरले भने, “हामीहरू तिमीहरुसँग
दुखी छौं। हामीलाई पो तिमीहरुको ठाउँ
ठेगान थाह थिएन तर आमालाई त थियो नि।
तिमीहरु एक पटक पनि नेपाल किन आएनौ?”
अरु बेला त मैलेपनि मेसो पाइन दाजु तर यिनीसँग
मेरो बिहे तय भएपछि मैले आमालाई धेरै सम्झाउने
कोशिष गरें कि नेपालमा हाम्रो घर कुन
जिल्लामा छ तर वहाँलाई अंचलको नामपनि
आउँदो रहेनछ। वहाँको कथामा मेरा तीनजना
दाजु र एउटी दिदी हुनुहुन्छ तर मुग्लानमा म
एक्लो रहन्छु यो पहेली बुझ्न मलाई पुरै पच्चीस
बर्ष लाग्यो, दाजु।
त्यसदिन देखि मेरो पनि हाँसो हरायो जुनदिन
आमालाई काठमाण्डौबाट यहाँ ल्याई नयाँ
जीवन दिने राणा परिवारकी सुसारे धामाले
आफ्नो घाम अस्ताउनु अघिल्लो रात
अस्पतालको शैयामा मलाई म आमाको
शरीरको एउटा ट्युमर भएको र त्यसलाई आमाले
भगवानको प्रसाद सम्झेर स्वीकार गर्दा
परिवारबाटै अपहेलितभै त्यागिनु भएको
यथार्थ बताएर जानुभयो। सबैकुरा बुझेपछि
मलाई पनि हिम्मत भएन कि म आमाको खाटा
बसेको घाउलाई शल्यक्रियाको नाउँमा
कोतरी रहुँ।
म त केवल……………. ” साजनले कुरा पुरा गर्न सकेनन्।
उनि भक्कानो छोडेर रोए। अनि साथमा
सबैजना रोए। अझैपनि संस्कृति, दिक्षा र
दिक्षान्त निन्याउरो मुख लगाएर एकअर्कालाई
हेराहेर गरिरहेका थिए।
बिस्तारामा ढिलै गएर पल्टेकी भएपनि
आमालाई पटक्कै निन्द्रा लागेन। उठेर पानी
पिउंदै सुत्ने प्रयत्नमा कोल्टो फेर्दै सुस्केरा हाल्दै
गर्दा वहाँ अतितको भुमरीमा हराउनु भयो।
श्रीमानको साथपनि वहाँले धेरै पाउनु भएन। तेह्रै
बर्षको उमेरमा वहाँ बुहारी बनेर अर्काको
घरको जुठो चुल्हो लिप्न आउनु भएको थियो।
आँफु भन्दा सात बर्ष जेठा पति भारतीय
सेनामा कार्यरत हुनुहुन्थ्यो। छुट्टीको समयमा
घर आएर चार सन्तानकी आमा बनाउनु भन्दा धेरै
वहाँले आमालाई केहि दिन सक्नु भएन। एक दिन
भारतीय सेनाको अड्डाबाट आमालाई
बोलावट आयो।
डम्बरले आमालाई लिएर काश्मिर गए। वसन्तको
गुराँस जस्तै हाँस्दै हाँस्दै गएकी आमा
शिशिरको हिउँले ढाकिएकी चट्टान जस्तै भएर
आउनु भयो। काखको राजनले बाबु चिन्ने मौकै
पाएन। आफ्नो उमेरको दुई बीस वसन्त देख्दा
नदेख्दै आमा पोइ टोकुवाई बोक्सी हुनुभयो। घर
देखि छिमेकीका ताना र उत्तिकै यातनाले
वहाँ जिउँदो लास बन्नु भएको थियो।
सिउँदो खोसिएको एक वर्ष मुस्किलले पुगेको
हुंदोहो। कार्तिक महिनाको एकसाँझ धान
बारीमा पानी लगाउन जानु भएकी आमा धेरैबेर
घर फर्केर नआएपछि डम्बर भाइलाई बोकेर –आमा-
आमा पुकार्दै बरितिर लागे। र एकै क्षणमा
–“हजुरबा!” भन्दै रुँदै कराउँदै घर आए। सबै जना
बरितिर कुदे। पानीको कुलोमुनिको गह्रामा
माडिएका धानको बिच्छ्यौनामा आमा
रगतले लतपत अर्ध मृत अवस्थामा हुनुहुँदो रहेछ।
वहाँका बस्त्र च्यातिएका थिए, ओठ मुखबाट
रगत बगी रहेको थियो।
अनुहार मा पनि नंग्राले कोतरेको घाउबाट रगत
निस्की रहेको थियो। आमाको गुन्यूको
अघिल्लो भाग कम्मरमाथि सम्म सरेको थियो
र पेटिकोट रगताम्मे थियो। वहाँ बेहोस
हुनुहुन्थ्यो। “चितुवाले आक्रमण गरेछ!” हजुरआमाले
भन्नुभयो। “तैंले केहि देखिस्,” हजुर बा ले
नातिलाई सोध्नु भयो। “एउटा कालो छायाँ
यताबाट जेठाबाको खोल्सातिर बेतोडले
कुद्यो,” डम्बरले भने। “बन-झाँक्री होला!”
हजुरबा ले लख काट्नुभयो।
दुई दिन पछि आमालाई अलिअलि होस आयो
तर वहाँले घटनाको बारेमा केहि बोल्नु भएन।
गाउँमा आमा बोक्सी भएको र वहाँलाई बन-
झाँक्रीले भोग गरेको हल्ला चैतको डढेलो भन्दा
चाँडो फैलीएको थियो।
पुसेपन्ध्रको रात घरमा कचहरी बस्यो। “भन् ए
नकटी कसको पाप हो?” हजुरआमा कड्किनु
भयो। आमा केहि बोल्न सक्नु भएन। वहाँको
मानस पटलमा घटनाको साँझको भयङ्कर दृश्य
ताण्डब गरि रहेको थियो।
लाहुरेनी आफ्नै धुनमा गह्राका कुनाकाप्चामा
मुसाका प्वाल टाल्दै आँठाका समाहा थुनथान
पार्दै पानी पटाउँदै थिईन्। उनलाई भोलि
बिहान सम्ममा आफ्नो भागको धानका गह्रा
पानीले टन्न भर्नु थियो। उस्तै परे जेठा ससुरा,
जेठाजु वा अरु छिमेकि राति आएर
कोदालाको बिंडले आँठोमा मुसाको जस्तै
प्वाल पारेर पानी चोर्न पछाडि पर्दैनथे।
“के गर्दै छ्यौ, माईली?” झम्के साँझमा कसैले
यसरी बोलाउँदा लहुरेनिको हंषले ठाउँ छोड्यो।
उनि झस्केर खडा भईन्। “ए जेठाजु पो!” “अन्त के
कामले पाल्नुभो तनी यता हुँदी?” उनले अलि
सम्हालिएर भनिन्। यसो मास्तिर गएर आउंदै थें;
यहाँ तिमीलाई देखेर अडिएँ।” लाहुरेनीले आँफु
फर्कन अलि ढिलो हुने बताउँदै जेठाजुलाई
आँफूलाई नपर्खन भनिन् र तल्लो गह्रातिर
लागिन्। उनि गौंडापट्टि पिठ गरेर समाहा
मिलाउँदै थिईन् आचानक उनलाई पछाडिबाट
केले च्याप्प समात्यो।
उनले गुहार गर्न नपाउंदै उनको मुखमा बुजो
लगाईयो र हात पछाडि लगेर बाँधिए। उनि
बचाउकोलागि छटपटाउन थालिन्। उनले जेठाजु
नाताको नरपशुलाई चिनिन् तर केहि बिन्ति
गर्न सकिनन् नत प्रतिबाद गर्न नै। उसले उनको
कानमा भन्यो, “माईली, बढी नखरा नगर नत्र
मर्लिस्। उसले फेरि भन्यो, “हेर तँ अझै दिन
उमेरकी छेस्। माइलोको शेख पछि तेरो हालत
देखेर मैले आज यो निर्णय गरेर आएको छु। चुपचाप
लागेर सुत हैनभने म जे गर्न पनि पछि हट्ने वाला
छैन।
माहिलीले गोडाले भनेपनि प्रतिबाद गरि
रहिन्। आँशुका ढिक्काले बिन्ति गरिरहे तर
जडको अघिल्तिर उनको केहिजोर चलेन। मुखमा
रुमाल कोचिएको हुनाले उनले राम्ररी स्वास
फेर्नपनि सकिनन् फलत: उनि डंलंग लडीन् र उनको
अर्धमृत शरीर माथि बिषालु साँपले डस्यो,
चितुवाले कोपर्यो र बन झाँक्रीले भोग गर्यो।
जब होश खुल्यो लाहुरेनी भित्र मझेरीमा
पछारिएकी थिईन् लाचार, विवस र कलंकित।
“छिटो भन् को संग पल्केकी छेस्?” बज्यैले
कुचोको डाँठले हिर्काउँदै फेरि सोधिन्।आमा
थर्र कांप्नु भयो।
हजुरबाले झर्किंदै भन्नुभयो, “त्यहि रातको
झाँक्रीको हो, यसलाई तुहाई हाल्नु पर्छ नत्र
गाउँमा अनिस्ट हुन्छ।” अरुले भने आमालाई
गाउँबाट निकाल्ने कुरा गरे। बोक्सी झार्ने भनेर
आमालाई सुकेका खुर्सानीको धुँवा लगाउने
तयारी भयो। ठुलो थुन्से डोको
भान्छाकोठामा ल्याईयो। केटाकेटीलाई
गोदाममा लगेर थुनियो र एकै क्षणमा सबैले
ख्वाक ख्वाक खुक खुक गरको सुनियो।
आमाले रुँदै चिच्याउदै भन्नुभयो, “मलाई केहि
गर्नु पर्दैन; सक्छौ भने जेठाजुलाई कारवाही गर
यो सबैको जिम्मेवार उही हो। त्यो असती
पापीले आज मेरो दुर्गति पार्यो। सबैजना
शान्त भए। भोलिपल्ट हजुरबाले मेडिकलको
डाक्टरलाई घरैमा लिएर आउनु भयो। आमाले
डाक्टरको हातको सुई खोसेर भांचिदिनु भयो।
उग्र चण्डी भएर वहाँले चिच्याई चिच्याई
भन्नुभयो कि वहाँको पेटमा हुर्किरहेको बच्चा
जेठाबाको हो। त्यो दिन वहाँलाई डस्ने गोबन
साँप जेठबा थिए. धेरैनै गाउँले भलाद्मी जम्मा
भए।
जेठाबालाई झिकाइयो। पहिले त वहाँले मान्नु
भएन जब डाक्टरले सहरमा बच्चाको बाबु पत्व
लगाउने प्रबिधि आएकोछ भने तब वहाले त्यो
दिनको घटना आमाकै इसारामा भएको
स्विकार्नु भयो। कसैलेपनि घटनाको राति
देखिएको आमाको शरीरको घाउ,
च्यातिएका कापडा र रगतको नाली अनि
वहाँ अर्धमृत अवस्थामा भेटिएको कुरालाई
सम्झेनन्। पोइ टोकुवाई बोक्सी माथि वहाँको
अर्को नाम पनि थपियो- घर भाँडुवाई …..डी।
त्यसै बेलुकी आमा जेठाबाको पिंढी बारेर
राखिनु भयो।
जेठाबा जेठीआमाले पनि आमाको गर्भ तुहाउन
ठुलो कसरत गरे। खानामा औषधि मिलाउने,
ठुलो भरि बोकाउने, लात्तीले भकुर्ने, हिड्दा
हिड्दै कान्लाबाट धकेल्ने। यति सम्मकि
जेठीआमाले मान्छे लगाएर आमाको दोश्रो
बलात्कारको योजना सम्म बनाइन। खै आमाले के
तागत पाएर हो आफ्नो गर्भलाई जोगाएरै
राख्नुभयो। वहाँ रुँदै भन्नुहुन्थ्यो, “यो अबोधको
के दोष? हिम्मत छ भने अपराधीलाई कारवाही
गर, मलाई न्याय देऊ!”
साजन जन्मेपछि आमाका दुखका दिन अझै
थपिए। वहाँको काख बाट राजन खोसियो।
एकदिन दिउँसो सजनलाई दुध खुलाउन घर आउँदा
वहाँले थाह पाउनु भयो कि साजनको शरीरको
दिशा सफा गर्न जेठीले कुकुरलाई अह्राइ छन्।
अबोध पशुले मासु सम्झेर उसको अन्डकोष झन्डै
खाइदिएछ। निकै ठुलो घाउ थियो, बल्ल बल्ल
निको भयो। त्यसपछि काममा जाँदा
साजनलाई साथैमा लग्नु पर्ने भयो। एकदिन धेरै
रोयो भनेर जेठीले साजनको मुखमा बाउको
टोपी कोची दिईछन्। बबुरो हकानिएर झन्डै
मरेको!
एकदिन बिहानै गाउँभरि हल्ला चल्यो –
लाहुरेनीले छोरो लिएर भागिछ।
डम्बर मेलापात घाँस दाउरा जात्रा बजार
जता गएपनि दुवै आँखाले आमालाई नै खोजी
रहन्थ्यो तर उसकी आमा आब पराइ भैसकेकी
थिईन् तैपनि उसले आस मर्न भने सकेको थिएन।
हजुरबाको शेष पछि ऊ आँफै बाउ बनेर टुहुरा भाइ
बहिनीको लालन पालन गरि रह्यो।
चार पाँच बर्ष पछि एकदिन पशुपतिको दर्शन गर्न
जानेहरुले आमालाई बाटोमा भेटेछन्। वहाँ त
खासै बोल्नु भएन छ तर संगैकाले भने अनुसार बबर
महलको एउटा घरमा सुसारे हुनुहुँदो रहेछ रे।
त्यतिको भरमा पनि डम्बरले आमाको खोजी
गर्न गएथे तर सफल भएनन्। आफ्नो र भाइ
बहिनीको बिहेमा पनि उनले समान किन्न
काठमाण्डौ जाने निहुँ पारेर आमाको खोजी
गरे तर कुनै सुराक हात लागेन। सबैजना घरबारे
भएपछि कामको चापले उसले आमालाई चाहेर
पनि सम्झन सकेनन्।
पोहर साल डम्बर पहाड बेचेर भाइहरु सहित मधेस
झरे। नयाँ घर बनाए। घर पैंचोकोलागि जब उनले
बहिनी र भान्जाभान्जी लाई खबर गरे, उनले
भनिन्, “दाइ, आमालाई खोजेर ल्याउँछौ भने म
पनि आउंछु।” डम्बरको मनमा एकपटक आमा खोज्ने
अठोट फेरि पलाएर आयो। बाको समान बुझ्ने
बेलामा फौजी ले खिची दिएको फोटो
खल्तीमा हालेर तिनै भाइ काठमाण्डौ
हानिए। भाग्यले गर्दा आमालाई भारत
रामनगर छोरिकहाँ सुसारे बनाएर पठाउने एउटा
राणा परिवारको सहयोगमा डम्बर र भाइहरुले
हराएकी आमा र भाइको परिवार पाए।
तिनै राणाजीको कृपाले पढेर साजन डाक्टर
भएछ। आमाले संस्कृतिलाई समेत आफ्नो संस्कृति
सिकाउनु भएको रहेछ।
अरु दुई दिन बसेर सपरिवार लिएर डम्बर, उदय र
राजन नेपाल पसे। बहिनीलाई खुशीको खबर
दिई सकिएको थियो। लहरै बनेका डम्बर र उनका
भाइका घरहरु बिहे घरझैं सिंगारिएका थिए।
छिमेकीहरु आ-आफ्नो ढंगले सहयोगमा खटिएका
थिए। ऊ उताबाट पाल्की बोकेर पन्चेबाजा
घन्काउँदै एक जमात जन्ती आए। डम्बरकी बहिनी
पन्चे बाजा सहित अलि पर सम्म आमालाई लिन
पुगेकी थिईन्।
पाल्की तीन घरको बिचमा बनेको साझा
मण्डपमा आएर अडियो र पाल्की भित्रबाट
पचपन्न बर्षकी बेहुली माता बाहिर आईन। सबै
जनाले फुल अक्षताले उनको स्वागत गरे। रिबन
काटियो, तालि बजे; दाजुभाइ, आमाछोरी,
देउरानीजेठानी, भाइबहिनी अंगालोमा
बाँधिई रहँदा बाटोको डिलबाट एउटा बुढो
दौडदै आएर निधारमा हत्केलाको पालि हालेर
राजनलाई यसो हेर्यो अनि भिडमा हरायो।
यता डम्बर सबै पाहुना हरुलाई आमा र भाइको
परिवार चिनाउन व्यस्त थिए, “यिनी हाम्री
बहादुर आमा अनि यि हाम्रा कान्छा भाइ
…………………………………”
प्रतिकृया दिनुहोस

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com