Monday, August 10, 2015

अपडेट :: पहिरोले बगाएको बस अझै भेटिएन ३ जनाको मृत्यु

काठमाडौ, श्रावण २४ - शनिबार दिउँसो पहिरोले बगाएर तिनाउ खोलामा खसेको बस आइतबार बिहानसम्म पत्ता लाग्न सकेको छैन । आइतबार बिहानैदेखि जनपद र सशस्त्र प्रहरीको टोली उद्दारमा खटिएपनि बस नभेटिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । 'प्रहरी बिहानैदेखि खोजी कार्यमा जुटिरहेको छ,' उनले भने ।
उनले बसको खोजी गर्न गोताखोर र क्रेनको व्यवस्था गर्ने प्रयास भइरहेको पनि जानकारी गराए । शनिबार बस बगाउँदा पाल्पा ताँहु, ८ की विद्या श्रेष्ठ र ठेगाना नखुलेका विष्णुबहादुर थापाको शव भेटिएको थियो । प्रत्यक्षदर्शीको भनाइ उदृत गर्दै प्रहरीले एक महिलाको शव बगेको अवस्थामा देखेको बताउँदै आएकाले तीन जनाको मृत्यु भएको जनाएको छ । शनिबार बेलुकीदेखि नै राजमार्ग एकतर्फि रुपमा खुलाइएको छ ।
प्राथमिकतामा परेन
सिद्दार्थ राजमार्गको सबैभन्दा बढी असुरक्षित दोभान गाविसको सिद्दबाबा क्षेत्रलाई सरकारले मुख्य प्राथमिकतामा राख्न नसक्दा बर्षेनी धेरै यात्रुले ज्यान गुमाउन बाध्य छन् ।
प्रत्येक वर्ष कम्तीमा १५ जनाले ज्यान गुमाउने यस क्षेत्रमा सुरुङ्मार्ग बनाउन ठूलो दाबाव दिएपनि अहिलेसम्म काम अघि बढ्न सकेको छैन । धेरै माथिबाट ढुंगा, माटो, धुले पहिरो खसेर धेरै सवारी साधन बगाउने, यात्रु च्यापिएर र बगेर ज्यान गुमाउन बाध्य छन् । स्थानीय श्रोत र साधनले व्यवस्थापन गर्न नसकिँने भएकाले सरकारले मुख्य प्राथमिकतामा राखेर भएपनि यसको दिगो व्यवस्थापन गर्न जरुरी रहेको सडक डिभिजन प्रमुख सुजन अधिकारीले बताउनुभयो ।
स्थानीय प्रशासनले सिद्दबाबाको दुवैतर्फ सुरक्षाकर्मी राख्ने, डोजर स्ट्याण्डबाइ राख्ने गरेर ट्राफिक व्यवस्थापन गर्दै आएको छ । वर्षा अझै बाँकी रहेकाले पहिरो खस्ने क्रम नरोकिएकाले झनै समस्या हुने गरेको छ । जोखिम न्युनिकरणकालागि प्रहरीको क्यू आरटी राख्न केन्द्रबाटै पहल गर्न जरुरी रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी  प्रेमलाल लामिछानेले बताउनुभयो ।
२०६४ सालको असोजमा बसलाई ढुंगाले पुर्दा ११ जना यात्रु, २०५६ सालमा बस बगाउँदा ३२ जनाको मृत्यु भएको थियो । गत असारमा कार पुरिएर दुइ जना चिक्तिसकको मृत्यु भएका जस्ता साना घटना सिद्दबाबा क्षेत्रमा हरेकवर्ष भइरहन्छ ।
Palpa_Accident

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com