पहिरोपीडितको प्रश्न : कहाँ बस्ने? के खाने?
लिवाङ (ताप्लेजुङ) : न खाना, न छाना, न त
नाना नै। सबैथोक लग्यो पहिरोले। कसले दिन्छ
बारीमा पाल टाँग्ने ठाउँ, अनि कसले दिन्छ
उधारोमा अन्न? अहिले ताप्लेजुङका
पहिरोपीडित यसैको खोजीमा छन्।
'सरकारले हेलिकोप्टरबाट गाउँमा एउटा पाल त
झारिदियो तर त्यो पाल कहाँ टाँग्नु? भएको
घर र जग्गा सबै पहिरोले लगिहाल्यो। वल्लो
घरमा जाउँ वल्लो घर नै छैन, पल्लो गाँउमा जाउँ
पल्लो गाउँ नै छैन। कहाँ टाँगौं पाल?,' ताप्लेजुङ
लिवाङका कुमार गिरीको आग्रह थियो,
'पाल टाँगेर बस्ने ठाउँसम्म पाए पनि हुथ्यो।'
गाउँमा जताततै पहिरो गएको छ। पहिरो
नगएको ठाउँमा पनि धाँजा फाटेर चिराचिरा
परेको छ। लिवाङको फुकादेन, थोपेहाङ,
मालवाँसे, सिरुबारीलगायतका गाउँको नाम
निशाना नै छैन। लिवाङमा रहेका थोपेहाङ र
जनकल्याण दुई विद्यालय पनि पहिरोले बगाएर
मेवा खोलामै मिसाइदियो।
यहाँको एउटा स्वास्थ्यचौकी पनि पहिरोले
पुर्यो। अलैंचीले हराभरा र चिटिक्क परेका घर
रहेको लिवाङमा अहहिले पहिरोले बगाउन
नसकेको माटोमुनिको पहरो मात्र बाँकी छ।
कुमार भन्छन्, 'गाउँमा पहिरो जाँदा म विदेशमै
थिएँ। विदेश गएको भर्खर १७ महिना मात्र
भएको थियो। मलेसिया गएर कमाएको पैसाले
खरको छानो फेरेर टिनको लगाउने विचार
थियो। दुई वर्षमा फर्कने योजनामा थिए उनी।
अचानक यस्तो खबर आयो, 'गाउँमा पहिरो
गयो र पहिरोले घर, परिवार जग्गा जमिन सबै
बगाएर लग्यो।' यो अशुभ खबर सुनेपछि म वेहोस
भएर ढलेछु। होसमा आएपछि कम्पनीले टिकट
काटेर नेपाल पठाइदियो। गाउँ आउँदा न
परिवार थियो न घर। आफ्नो भन्नु केही नै रहेनछ।
अब कसरी बाँचौं?'
बाबु अर्घनाथसहित आमा र तीनजना
भाइबहिनीलाई पहिरोमा गुमाएका कुमार
अहिले बारीमा पाल टाँगेर बस् भनेर सानो
जग्गा दिने आफन्तको खोजीमा छन्।नेपाल आएर
बाबुआमाको दाहसंस्कारसमेत गरिसकेका कुमार
अहिले उधारोमा अन्न दिने आफन्त खोजिरहेको
बताउँछन्। बोल्दाबोल्दै रुने कुमार हिजोसम्म
आफ्नो गाउँघर रहेको पहिरो हेरेर एक्लै
टोलाउँछन्।
गाउँमा आएन राहत
ताप्लेजुङका पहिरोपीडितका लागि सरकार र
विभिन्न संघ संस्थाबाट प्राप्त राहत सडक
यातायातको सुविधा पुगेको फुङलिङको
हान्द्रुङ बजारबाट वितरण गरिँदै आएको छ।
पहिरोबाट अति प्रभावित लिवाङ,
थिङलाबुलगायतका गाविसमा त्यहाँबाट
खाद्यान्न बोकोर गाउँ पुर्याउन सातदेखि १०
घन्टासम्म लाग्छ।
पहिरोका कारण वल्लो गाउँबाट पल्लो
गाउँसम्म पुग्न नसकेका लिवाङवासीले
हान्द्रुङमा वितरण गरिएको राहत गाउँसम्म
ल्याउन सकेका छैनन्।
आफूहरूले हान्द्रुङबाट एक गेडो राहत पनि
गाँउमा ल्याउन नसकेको र अहिले गाउँमा रहेको
अलिअलि अन्न उधारोमा किनेर परिवार पाल्दै
आएको पहिरोबाट विस्थापित कमला गिरीले
बताइन्।
पहिरो गएको गाउँभन्दा अलि माथि रहेको
ल्यामल्याम डाँडामा बसिरहेकी कमलाले
भनिन्, 'सुरु सुरुमा घरमा अन्न हुनेले अलिअलि
दिए। अब त यसले तिर्न सक्दिन भनेर अन्न घरमा
भएकाहरूले पनि दिन छोडे। अन्नै तिर्छु भनौं
उब्जिने ठाउँ छैन। पैसा दिएर किनौं पैसै छैन।'
जिल्ला प्रहरी कार्यालयका अनुसार
पहिरोबाट लिवाङ गाविसमा मात्रै एक सय
५३ घर परिवार विस्थापित भएका छन्।
विस्थापित भएकामध्ये कतिपय खोक्लिङमा
बसेका छन् भने धेरैजसो लिवाङकै अलि सुरक्षित
ठानिएका गाउँहरूमा बसिरहेका छन्।
पहिरोमा सयौं गाईबस्तु पुरिए। पहिरोले
बाटो र पुल भत्काएका कारण पनि गाउँबाट
बाहिर जाने अवस्था नभएकोले सरकारले
हेलिकोप्टरबाट गाउँमै राहत झारिदिनुपर्ने
पीडितको माग छ।
जेठ २७ गते गएको पहिरोमा लिवाङका मात्रै
२८ जना पुरिएका थिए। तीमध्ये हालसम्म १२
जनाको मात्र शव भेटिएको छ। १६ जना
पहिरोमा अझै वेपत्ता छन्।
पहिरोमा हराएका खोक्लिङका चारजना
अझैसम्म फेला परेका छैनन्। ताप्लेजुङको लिवाङ,
खोक्लिङ, थिङलाबु, लिङतेप र सान्थाका
गाविसको पहिरोमा पुरिएका मध्ये हालसम्म
३९ जनाको शव निकालिको छ।
No comments:
Post a Comment