Saturday, July 11, 2015

भुईचालो पछि कस्तो छ त जिन्दगी सिन्दुपाल्चोकको


भीरकुनाका अमरदाइ
गत साता सिन्धुपाल्चोकहुँदै दोलखातिरको पैदलयात्रामा दोस्रो दिन म भीरकुना पुगेको थिएँ। हुस्सुले घरि ढाक्ने त घरि उघ्रिने सानो फाँट। त्यहीँनिर भेटियो एउटा गोठ। गोठमा थिए अमरदाई अर्थात् अमरबहादुर मानन्धर।
सबैभन्दा शीर्षमा यो तस्बिर भएकै कारण मेरो यात्रा वर्णन अमरदाइबाटै गर्दैछु।
झट्ट हेर्दा पहिले त बाहुन क्षेत्रीजस्तै देखिएका थिए। नेवारहरूले भरिएको यो सिँगो वस्तीमा यहि त एउटा अचम्म थियो। थर नेवार छ-अनुहार सबैको बाहुन, क्षेत्री हुँदै अझ कसैकसैको त तामाङसँग मिल्ने।
उतिबेला लामाबगर व्यापारिक नाका रहेछ। त्यहाँ ओहोर दोहोर गर्ने भक्तपुरका नेवारहरुकै कारण बाटोमा पर्ने दोलखा भिमसेनलगायतका बस्तीहरु बसेका रहेछन्। यस्तै बस्तीहरु नाघ्दै म भीरकुना आइपुगेको थिएँ।
एकछिनको भलाकुसारीमै हामी आत्मीय बन्यौं। दाइले पदमचाल हालेको मिठ्ठो दूधचिया खुवाए।
‘मसँग के अनुभव छैन र?’ उनी भनिरहेका थिए, ‘सबैथोक भोगेपछि अन्त्यमा यहि गोठ प्यारो लाग्यो।’
हुन पनि उनका अनुभव सुन्दै जाँदा कम्ता रोचक लागेनन्।
‘हुर्कने उमेरमै ज्यामी काम गर्न भुटान पुगेको थिएँ,’ उनी खुल्दै गए, ‘साह्रै दुःख पाइयो।’
कुनै बहिदारले उनलाई उता पुर्‍याएका रहेछन्। गएदेखि काम गरेको नौ महिना बितिसक्दा पनि खानबस्न मात्र पाइयो। पैसा ठ्याम्मै छैन। सोधिखोजी गर्दा ‘लागेको खर्चै उठेको छैन के को पैसा?’ भन्दा रहेछन्। अन्तिममा हार खाएर उनी गाउँ फर्किए।
उताको अनुभव त्यसै छाड्ने कुरा थिएन। गाउँ आउनेबित्तिकै विवाहबन्धनमा बाँधिएका उनी जहान लिएरै फेरि भुटान हानिए। सुख त फेरि पनि पाएनछन्। तर, यो दोश्रोपटकको यात्रामा अलिकती पैसा चाहिँ जम्मा गर्न सफल भए।
‘त्यहि पैसाले जोडेको गोठ हो यो,’ उनले भने, ‘त्यसपछि फेरि उता गइएन।’
गोठमै रहेका बेला कसैले उनलाई खासा गएर भरिया भए राम्रो कमाइ हुने बताएछन्। उनको मन फेरि चञ्चल हुनथाल्यो।
‘रात पर्नेबित्तिकै साहुको भारी बोकेर सिमाना कटाउनु पर्थ्यो,’ उनले भने, ‘आँखा छलेर गर्नुपर्ने त्यो काम डरमर्दो र कष्टपूर्ण दुवै थियो।’
त्यतिबेलै कसैले ‘यति सास्ती गर्नुभन्दा त सुन ओसारपसार गरे कम मेहनतमै धेरै आम्दानी हुन्छ’ भनिदिएछन्। उनी खासाका सामान बोक्न छाडेर सुन भरिया बन्न पुगे।
खासाबाट सुन लिने, त्यसलाई बोकेर पैदलै चरिकोट पुग्ने र चरिकोटबाट बस चढेर काठमाडौं जाने। यसरी चरिकोटबाट जाँदा खासाबाट आएको शंका कसैले गर्दैन थिए र सुन सजिलै काठमाडौं पुग्ने गरेको थियो।
तर, एकदिन चरिकोटसम्म हिँडेर जाने झमेला गर्न उनलाई मनलागेन। बाह्रबिसेबाटै बस चढेर हिँडेछन्।
‘मान्छेको दिनदशा बिग्रेपछि केहि लाग्दैन,’ उनले भने, ‘त्यो पहिलो दिन नै लामोसाँघुमा पुलिसले झ्याप्पै समाइहाल्यो।’
त्यसपछि अढाइ लाख रुपैयाँ जरिवाना। त्यतिले नपुगेर चार वर्ष तीन महिना जेल।
‘डिल्लीबजारको झ्यालखानामा बसेको बेला डिबि लामा पनि त्यहीँ थिए,’ उनले सुनाउदै गए, ‘चिनजान बढिरहेकै बेला पछि उनी छुटे।’
०४८ सालताका अमर दाइ पनि जेलबाट छुटेछन्।
‘सबैभन्दा ठीक गोठैमा बस्नु रहेछ,’ थपे,‘त्यसपछि यताउता मन डुलाउन छाडेँ।’
भुइँचालो आएको बेला पनि उनी गोठैमा थिए। गाउँको घर भने धुलो र ढुँगाको ढिस्को भइसकेछ।
‘सरकारले बाँडेको राहत पनि कसैले दोहोरी तेहरी पाउने कसैले एकपटक पनि नपाउने पारा छ,’ उनी भनिरहेका थिए, ‘हरेक राजनीतिक दलले आफ्ना मान्छेका निम्ति भनेर हारालुछ गरिरहेका छन्।’
त्यसै दिन राहत लिने अमर दाइको पनि योजना थियो।
‘वनमा चर्न गएको भैंसी समयमै आइदिएन र तपाइँसँग भेट भयो,’ उनले सुनाए, ‘नत्र यतिन्जेल म ओह्रालो लागिसकेको हुन्थेँ।’
यसरी एकैछिनको भलाकुसारीपछि म अमर दाइले बताएको बाटो अनुसारै फेरि माथि उक्लन सुरु गरेँ।

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com